फस्टाउँदो शैक्षिक क्षेत्रको खस्किदो परिणाम

राणाकालीन अवस्थामा राणा खानदानभन्दा बाहिरका मानिसले शिक्षा लिन हुँदैन यदि अरुले शिक्षा पाए भने उनीहरू शिक्षित हुन्छन् र राणा खानदानलाई पछि पार्छन् भन्ने मान्यता थियो । जंगबहादुरले वि.सं. १९१० मा दरबार स्कुल खोलेपछि नेपालमा पहिलो औपचारिक शिक्षालयको स्थापना भए पनि यसको स्थापनाको ३८ वर्षसम्म यो शिक्षालयमा दरबार भन्दा बाहिरका कसैले पनि पढ्न पाउने अवस्था थिएन । वि. सं. १९९० सालमा नेपालमा एसएलसी बोर्डको स्थापना हुँदा देशभरी जम्मा दुईवटा मात्रै माध्यमिक विद्यायल रहेको पाइन्छ। वि. सं. २००४ सालमा संवैधानिक कानुन मार्फत नेपालमा विद्यालय खोल्न पाइने नियम लागु भएपछि मात्रै नेपालमा विद्यालयहरू खुल्न थालेका पाइन्छ । यद्यपी जङ्गबहादुर राणाले नै बेलायतबाट अङ्ग्रेजी भाषा भित्राएर नेपालमा अङ्ग्रेजी भाषाको पनि सुरुवात गरेका हुन् । मानिसहरूमा शिक्षा लिनुपर्छ भन्ने कुराले प्रवेश गरेको भएता पनि शिक्षा अनिवार्य आवश्यकता हो भन्ने कुराको विकास भइसकेको थिएन । कतिपय मानिसहरूमा शिक्षा भनेको हुने खाने र ठूला खानदानहरूका लागि मात्रै हो भन्ने मान्यता पनि थियो । तर समय क्रमको विस्तारसँगै त्यो मानसिकतामा पनि परिर्वतन हुँदै आयो र अझै पनि कतिपय त्यस्ता मानिस र परिवार छन् जसमा शिक्षा अनावस्यक हो भन्ने कुराले नै जरा गाडिरहेको छ । तैपनि धेरैका लागि शिक्षा अनिवार्य नै भइसकेकोमा कसैको दुईमत नहोला।
दुर्गम गाउँका मानिसहरूमा शिक्षाले ठाउँ पाउन नसकिरहेको अवस्थामा अबका केही वर्ष भित्रमै सरकाले नेपाललाई पूर्ण साक्षरता मुलुक बनाउने लक्ष्य लिएको छ र अहिलेको बाम सरकारले ‘अभिभावकत्व ग्रहण’ भन्ने कार्यक्रम नै ल्याएको छ यद्यपी अझैपनि ६० हजार विद्यार्थी विद्यालयको पहुँच बाहिरै रहेको तत्थ्याङ्क पनि सार्वजानिक भइरहेको छ । नेपालमा विभिन्न समयमा गरी पाँच पटकसम्म उच्च स्तरीय शैक्षिक समितिहरूले प्रतिवेदन पेश गरेपनि अहिलेसम्मको सरकारले २०५८ को शिक्षा ऐनलाई नै सामान्य संशोधन गरी आजसम्मको शिक्षा व्यवस्थालाई धान्दै आइरहेको छ । देश संघीय गणतन्त्रात्मक अवस्थामा प्रवेश गरिसक्दा पनि पुरानै अवस्थामा चल्नु लज्जास्पद अवस्था हो । पहिले र अहिलेको शिक्षा प्रणलीमा भिन्नताः पहिले–पहिले बालबच्चा सामान्यतया चार÷पाँच वर्षको भएपछि विद्यालयमा भर्ना गर्ने चलन थियो । बालबच्चाको झोलामा केही खाने कुरा हुन्थेन न त पानीको भाँडो नै हुन्थ्यो न उनीहरूलाई कोही विद्यालय पुर्याउन जान्थ्यो न त साँझ लिन नै कोही जान्थ्यो । साँझ घर फर्केपछि मकैका ठेट्ना र छानामा सिउरेर राखिदिएको चिसो भात खाएर आफ्नो-आफ्नो भागमा परेको काम गर्नै पथ्र्यो त्यसरी पढेका विद्यार्थी पनि बोर्डफस्ट भएकै हुन् देशको प्रधानमन्त्री र राष्ट्रपति भएकै हुन् । साँच्चै दाँज्ने हो भने अहिले भन्दा त्यही बेलाको एस. एल. सी. परीक्षाको नतिजा राम्रो होला । त्यतिबेलाको पढाईले विद्यार्थीको दिमागमा गहिरो छाप पारेको हुन्थ्यो र पढेको कुरा पछिसम्म पनि दिमागमा अडिरहन्थ्यो । आज जस्तो त्यो बेलामा अङ्गेजी माध्यमको पढाइ पनि थिएन कसैले ट्युसन-कोचिङ् पढ्ने अवसर पाउँदैनथ्यो र पढाउने चलन पनि थिएन । तर आजभोलि बालबालिका अलिअलि बोल्ने प्रयास गर्दैमा विद्यालय पठाउने चलन बढ्दो छ । यस्तो चलन प्रायः सहरका निजि विद्यालयहरूमा बढ्दो छ । कति त्यस्ता अभिभावक पनि हुन्छन् जसलाई आफ्ना बालबच्चा झिँजो लाग्ने गर्छन् र त्यसबाट मुक्त हुनको लागि पनि त्यसो गरेको पाइन्छ भने कतिपयलाई आफ्नो  व्यस्तताले पनि त्यसो गर्न बाध्य पारेको हुन्छ । सहरका चोकै पिच्छे खुलेका यस्ता विद्यालयमा मन्टेस्वरी विधिबाट पढाइने भनेर ठूला–ठूला साइनबोर्डहरू झुण्ड्याइएको पाइन्छ खासमा त्यहाँ बच्चालाई भर्ना गरेर उसले पाउने केही पनि होइन यो केवल अभिभावक ठग्ने बाटो र पैसा कमाउने धन्दा भन्दा अरु केही होइन । पहिलेका विद्यार्थीहरूलाई धेरै कामको बोझले गर्दा पढ्न पाए आराम हुने आशाले पनि पढाइमा ध्यान लगाउने गर्थे र उनीहरूमा भित्रैदेखि पढ्न पर्छ भन्ने धारणाको विकास भएको हुन्थ्यो। तर अहिलेका विद्यार्थी आफ्नो मन लागेर भन्दा पनि अरुको कर र डरले पढिरहेका हुन्छन् । घरमा अभिभावकले अरुका छोरा छोरीलाई देखाएर उसको जति वा उसको भन्दा धेरै प्रतिसत (जिपिए प्वाइन्ट) ल्याउनै पर्छ भन्ने एक किसिमको मानसिक दवाब दिइरहेका हुन्छन् भने विद्यालयमा शिक्षकको त्यस्तै दबाब हुन्छ शिक्षकलाई विद्यार्थीको भविष्य बनोस् भन्ने भन्दा पनि विद्यार्थीलाई कसरी हुन्छ पढाइमा पेलेर धेरै अङ्क-उत्कृष्ट ग्रेड ल्याउन लगाउन पाए आफ्नो विद्यालयको इज्जत धानिन्थ्यो भन्ने उद्देश्य हुन्छ। त्यस्तो किसिमको पढाई दीर्घकालीन हुँदैन त्यो त एस. एल. सी. को नतिजाको लागि मात्र हुनेछ । कसैले आफ्नो भित्री मनदेखि केही जान्ने उत्सुकता राखेर केही जान्न खोज्यो भने मात्रै उसको दिमागमा त्यो कुरा लामो समयसम्म रहन सक्छ अरुको कर बलले  सिकेको कुरा क्षणीक मात्रै हुन्छ।
किन खस्कँदैछ एसइइ रिजल्ट ?
विद्यार्थी जीवनकै महरूङ्खवपूर्ण (फलामे) ढोका मानिने एस. एल. सी. (अहिलेको एसइइ) परीक्षाको नतिजा पछिल्ला केही वर्षमा लगातार खस्किँदै गइरहेको छ । यसमा कमजोरी कसको हो भन्ने कुराको आजसम्म पनि छानविन भएको छैन। एक अर्कालाई दोषारोपण गर्ने भन्दा अरु केही प्रगति हुन सकेको छैन। जब परीक्षाको नतिजा सार्वजानिक हुन्छ तब शिक्षा प्रशासनले शिक्षकलाई, शिक्षकले सरकारलाई, अभिभावक र विद्यार्थीले विद्यालयलाई दोष लगाउने काम मात्र हुन्छ। तर यसरी लगाइने आरोप प्रत्यारोपले परीक्षाको नतिजामा सुधार आउँदो रहेनछ भन्ने कुराको महशुस कसैले गरेको पाइँदैन। केही वर्ष पहिलेसम्म एस. एल. सी. परीक्षालाई त्यति मर्यादित बनाईँदैनथ्यो परीक्षामा चीट चोर्ने चोराउने काम प्रशस्त मात्रामा पाइन्थ्यो तर केही वर्ष यता त्यो क्रममा केही सुधार आएर पनि यसको रिजल्ट खस्केको हुन सक्छ। विद्यार्थीलाई पुस्तकको मात्र कोरा अध्यापन गराइनु र प्रश्न त्यो भन्दा बाहिरबाट आउने गर्नुले पनि पास गर्न गाह्रो भएको हुन सक्छ। सबै विद्यालयमा समयमै पाठ्यपुस्तक नपुग्नाले पनि विद्यार्थीहरू मर्कामा पर्ने गरेका छन् । माथि भनिए जस्तै आफ्नो इच्छाले भन्दा पनि अरुको कर बलको पढाइले गर्दा कक्षामा बुझेको कुरा परीक्षा दिने बेलासम्म सम्झन नसक्नु, वर्षै पिच्छे पाठ्यपुस्तक परिवर्तन भइरहनु, शिक्षक परिवर्तन भइरहनु, तल्लो कक्षादेखि नै विद्यार्थीको पठन पाठनमा अभिवाभक र शिक्षकले ध्यान नदिनु, कक्षा दसमा पुगेपछि मात्र पढाइमा रेटाउनु, विद्यार्थीलाई राजनीति हस्तक्षेप गर्नु , पत्रपत्रिका र समाचारबाट बञ्चित गराउनु पनि परीक्षामा असफल हुनुको कारण बन्ने गरेका छन्  कतिपय त्यस्ता विषय पनि हुन्छन् जसमा किताबको कुरा भन्दा बाहिरी कुराको आवश्यकता पर्दछ । त्यसैगरी समय–समयमा शिक्षकलाई विषयगत तालिम प्राप्त नगराइनु, एउटा विषयको शिक्षकलाई अर्कै विषय पढाउन लगाइनु परीक्षा प्रणाली खस्किनुका कारणहरूमा पर्दछन् । तल्ला कक्षादेखि नै पाठ्यक्रम अनुसार विद्यार्थीको आवश्यक ज्ञान हासिल गर्न नसक्दै कक्षा चढाउने प्रवृत्तिको विकास हुनु र त्यसले गर्दा सिक्नुपर्ने कुरा थपिँदै जानु र माथिल्लो कक्षामा एकै चोटी त्यसको बोझ पर्नु पनि असफलताका कारणहरू हुन् । यी समग्र विद्यालयका हकमा हुने असफलताका कारणहरू हुन् भने विशेषतः सामुदायिक र सरकारी विद्यालयका नतिजा खस्कनुमा अन्य थप केही कारणहरू पनि जोडिन आउँछन् जस्तोकि शिक्षकहरू विभिन्न राजनीतिक दलको झन्डा बोकेर हिँड्नु, पुरानै शिक्षकको निरन्तरता, तालिम प्राप्त शिक्षकको अभाव इत्यादि कारणले गर्दा सामुदायिक र सरकारी विद्यालयको नतिजा निल नै हुने गरेको छ ।
नतिजामा सुधार ल्याउन के–के गर्न सकिन्छ ?
२०६५ सालसम्ममा ६८.४७ प्रतिसत उत्तीर्ण रहेको एस. एल. सी. परीक्षाको नतिजा छ वर्षदेखि लगातार ओरालो लाग्दै गएर ७१ सालसम्म आइपुग्दा ४७.४३ मा झरेको छ । अब यही क्रममा यो अनुपात बढ्दै गयो भने केही वर्षमै सम्पूर्ण विद्यालयहरू अहिलेका सामुदायिक विद्यालयको हैसियतमा नपुग्ला भन्न सकिन्न । विद्यार्थीको पढाई राम्रो हुनको लागि घर पहिलो पाठशाला हो भने झैँ पहिले घरको वातावरण राम्रो हुनपर्छ, अभिभावक सभ्य हुनुपर्छ, पढाइमा ध्यान दिन नचाहानेहरूका लागि हप्काएर, थर्काएर नभइकन सम्झाई बुझाई गरेर पढाइतिर केन्द्रित गराउनु पर्दछ । विद्यालयमा हरेक कक्षाको कोर्समा सोही कक्षामा नै निपुर्ण नभइकन उपल्लो कक्षामा उकाल्ने गर्नु हुँदैन । शिक्षकहरूलाई समय–समयमा तालिम दिइरहनु पर्दछ । सम्बन्धित विषयका शिक्षलाई मात्र सम्बन्धित विषय अध्यापन गराउन लगाउनु पर्दछ । पढाइमा राम्रो गर्ने विद्यार्थी र शिक्षकलाई उचित किसिमको पुरस्कारको व्यवस्था गरिनु पर्दछ जसले गर्दा पढ्ने र पढाउने दुवैलाई हौसला प्रदान गरोस् । विद्यालय र शिक्षकलाई राजनीतिबाटै अलग्गै राख्नु पर्दछ (राजनीतिक ज्ञान लिन भने आवश्यक छ) । विद्यार्थीलाई बेलाबेलामा शैक्षिक भ्रमणमा सहभागिता गराउनुका साथै देशको परिवर्तित राजनीतिक अवस्थाप्रति पनि जानाकारी गराउनु पर्दछ । सम्पूर्ण विद्यालयमा सयमै पुस्तक पुर्याउन सक्नु पर्दछ । विद्यार्थीहरूलाई अरुले कर गरेर होइन कि आफैँ पढौँ–पढौँ लाग्ने वातावरणको सृजना गर्न सक्नु पर्दछ । पुराना पुस्ताका शिक्षकलाई स–सम्मान विदाई गरी नयाँ र सक्षम शिक्षकलाई हरेक विद्यालयमा खटाउने गर्नाले पनि परीक्षा प्रणालीमा सुधार ल्याउन सकिन्छ । एसइइ को नतिजा आउने वित्तिकै ठूलै खैलाबैला मच्चिन्छ ताकि यो नै जीवनको अन्तिम परीक्षा हो अब कहिल्यै पढ्न पाइँदैन र यही एसइइ परीक्षा पनि फेरि दिन पाइँदैन । यही सोचेर बर्षै पिच्छे एसइइ. नतिजासँगै कतिपय विद्यार्थीहरूले आफ्नो  ज्यान अकालमै फालिरहेका हुन्छन् । आफ्ना  छोराछोरीले ज्यान फाल्नुमा कतिपय अभिभावको पनि ठूलो हात रहने गरेको पाइन्छ । जसले असफल भएका आफ्नो  छोराछोरीलाई नराम्रो किसिमले गाली गलौज गर्ने र घरमा बस्न समेत नदिने गरेको हामी पाउँछौँ तर त्यसो गर्नु ठूलो मूर्खता हो । परीक्षा भनेकै त्यही हो त्यसले कि सफल गराउँछ कि असफल गराउँछ । त्यसको मर्यादालाई नबुझिकन कहिल्यै पनि कसैले कसैलाई नराम्रो व्यवहार गर्नु हुँदैन जसले गर्दा ठूलै दुर्घटना निम्त्याउन सक्छ । एक पटक असफल हुँदैमा सँधै असफल नै हुन्छ भन्ने केही पनि ज्ञारेन्टि छैन असफलता नै सफतालाई मार्गनिर्दे गर्ने बाटो हो भन्ने कुरालाई सबैले मनन गर्न जरुरी छ।
लेखक- सुजन देवकोटा

Related posts

Leave a Comment