काँङ्ग्रेसमा अन्तरिक भाड्भैला कहिलेसम्म ?

नेपाली काँङ्ग्रेस आजको अवस्थासम्म आइपुग्नको लागि बिपी लगायत गणेशमान सिंह, टंकप्रसाद आचार्य, कृष्णप्रसाद भट्टराईहरूको ठूलो योगदान रहेको छ । त्यसपछिका नेतारूमा गिरिजाप्रसाद कोइरालासम्म आइपुग्दा त नेपाली काँग्रेस भन्ने पार्टी नै दुईवटा बन्न पुग्यो र पुनः उनकै पालामा एक पनि भयो । तत्कालीन नेपाली काँङ्ग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक) एक भएदेखि एउटै पार्टीभित्र पनि दुई गुटको बीचमा प्रतिसतका आधारमा भागबन्डाको शृङ्खला सुरु भयो र त्यसले अहिलेसम्म पनि निरन्तरता पाइरहेकै छ ।

त्यही प्रतिसतका आधारमा पार्टीभित्रको आन्तरिक द्वन्द सुल्झिए जस्तो देखिँदै आए पनि अहिले भने त्यसले मात्रै पार्टीलाई स्थिर राख्न सकेन र यतिबेलाको काँङ्ग्रेस सतहमै दुईधारमा चिरिएको छ। भित्रभित्रै बाझिने र मिलेजस्तो देखिँदै आएको काँङ्ग्रेसको बिवादलाई यसरी सतहमै ल्याइदिने मुख्य तत्व बनेको छ वाम गठबन्धन हुँदै बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) , यही गठबन्धका कारण गत वर्ष सम्पन्न भएका तीन चरणका निर्वाचन (स्थानीय तह, प्रतिनिधिसभा र राष्ट्रियसभा) मा यो पार्टीले नराम्रो पराजय बेहोरेको छ । पार्टी हारको यो अवस्थाको सम्पूर्ण जिम्मा पार्टी नेतृत्वलाई दिएर आफ्नो पक्षलाई सवल बनाउने दाउमा पार्टीको संस्थापनइतर पक्ष छ भने संस्थापन पक्ष पार्टीले नहारेको तर बाम गठबन्धनका कारण दुईवटा पार्टी मिल्दा एउटा पार्टीले जित्न नसकेको भन्ने मान्यतामा उभिएको छ ।

करिब तीन महिना अघि सम्पन्न भएको काँङ्ग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको आन्तरिक विवादलाई लिएर पालैपालो क्षेँण हान्ने क्रम चलिरह्यो । संस्थापन पक्ष पौडेल पक्षमाथि र पौडेल पक्ष संथापन पक्षमाथि कडा रूपमा प्रहार भए । तर पनि पार्टीभित्रको विवादले ठोस निष्कर्श भने पाएन । जब जब देउवाले सरकारको चावी आफ्नो हातमा लिन्छन् त्यतिबेला उनको धेरै आलोचना हुने गरेको छ । कहिले राजाले उनलाई असक्षम भनेर उनको सरकार नै बर्खास्त गरिदिन्छन् त कहिले आफ्नै नेतृत्वको सरकार हुँदा पनि पार्टीले हारेको भनेर आफ्नै पार्टीभित्रबाट उनको कडा आलोचना हुने गर्छ। पार्टी नेतृत्व सरकारमा हुँदा सरकारको आलोचना हुनु भनेको नेतृत्वको पार्टी सञ्चालन गर्ने शैलीको पनि आलोचना नै हो। काँङ्ग्रेसभित्रको यतिबेलाको आन्तरिक द्वन्द भनेको पार्टीलाई आफ्नो नेतृत्वबाट बाहिर जान नदिने र देउवाबाट नेतृत्व हुत्याउन पर्छ भन्ने दुईखालको विवादका बीचबाट उत्पन्न भएको हो, यो वहसलाई पार्टी सुदृढीकरणको बहस भनिए पनि यसले सुधारको बाटो समाउने लक्षण देखिएको छैन किनकी यहाँनेर पार्टी नेतृत्वलाई देउवाको काबुबाट उम्काउन खोज्नेहरूले पनि पार्टीको अबको एजेण्डा र रकार्यदिशा प्रस्तुत गर्न सकेका छैनन् भने संस्थापन पक्षले पनि आफ्ना कमीकमजोरीलाई स्वीकारेर अगाडि बढ्नका लागि कुनकुन विषयमा सकारात्मक ढङ्गले छलफल गरेर अगाडि बढ्न सकिन्छ भन्ने खालको छलफल गर्न सकेको छैन ।

संस्थापन इतरका पक्षले बिरोध मात्रै गर्ने र संस्थापन पक्षले उनीहरूका कुरा सुन्दै नसुन्ने गर्दा काँङ्ग्रेसमा अहिले देखिएको बिबाद केवल विवादका लागि मात्रै हो जस्तो देखिएको छ । यदि देउवाले नेतृत्व छोडेभने पनि काँङ्ग्रेसमा अकल्पिनीय सुधार हुने र गर्न सक्ने कुनै त्यस्तो व्यक्ति छ भन्नेमा कोही पनि ढुक्क छैन । यस्तै बिवादका बीचमा भएको यो पार्टीको संसदीय दलको निर्वाचन हेर्दा पनि थाहा हुन्छ पार्टीभित्र जति बिरोध भए पनि देउवा अझै पनि पार्टीमा बलियो अवस्थामा नै छन् । त्यसै निर्वाचनको नतिजा हेर्दा काँङ्ग्रेसभित्र उचालेर पछार्नेको राम्रै उपस्थिति रहेको देखिन्छ । काँङ्ग्रेस नेतृत्वको आलोचनाका मुख्य कारणमा पार्टी नेतृत्वको एकल निर्णय पार्टीमा हावी हुनु, पार्टी बिधानमा भएअनुसार पधाधिकारीहरूको नियुक्ति हुन नसक्नु, देश संघीयतामा गइसक्दा पनि पार्टीको संरचनालाई संघीयताका ढाँचामा बदल्न नसक्नु, स्थानीय तहको निर्वाचनमा माओवादीसँग मिलेर प्रचण्ड पुत्रीलाई भरतपुर महानगरपालिकाको मेयर बनाउनु, माओवादीसँगै मिलेर ओली सरकार ढलाउनु, भारतीय नाकाबन्दीका बेला पार्टी मौन बस्नु, तत्कालीन प्रधानन्याधिश शुसिला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गराउनु, लोकमान प्रकरणमा मौन बस्नु, हार्ने निश्चित हुँदाहुँदै पनि संविधान जारी भएपछिको प्रधानमन्त्रीका  आफ्नो पार्टीका तर्फबाट तत्कालीन पार्टी सभापति शुसिल कोइरालाई नै उमेद्वार बनाउनु जस्ता कारण यतिबेला चर्चामा छन् । यीनै कारणले गर्दा काँङ्ग्रेसको विवाद वर्तमान परिस्थितिसम्म आइपुगेको हो भन्ने संस्थापन बाहिरका पक्षको तर्क छ भने संस्थापन पक्ष त्यसलाई सतप्रतिशत स्वीकार गर्न चाहँदैन।

 

नेपाली काँङ्ग्रेस दुईवटा छँदा देउवाको पार्टीमा भएका र पार्टी एकीकृति भइसकेपछि पनि उनैको पक्षमा बोल्दै आएका धेरै नेताले अहिले उनको धार छोडेका छन् । रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनमा पराजय बेहोरिसकेपछि उनको पक्षमा लागेर उनको ठाउँ लिन सक्ने उद्देश्यका साथ केही नेता त्यता लागेका हुन् भनेर अन्दाज लगाउन सकिन्छ । काँङ्ग्रेस भित्र जति नै सुधारवादको कुरा उठाएपनि अब पनि देउवा वा पौडेल उमेरका नेताको नेतृत्वले यसलाई सुधारोन्मुख बनाउन सक्ने देखिँदैन । किनकी उनीहरूको बिचार र नीति दुबै शिथिल साबित भइसकेका छन् । पार्टी लगायत राष्ट्रलाई कसरी सवल र सक्षम बनाउन सकिन्छ भन्ने तर्क त गर्छन् तर त्यसालई व्यवहारमा उतार्ने सामथ्र्य उनीहरूसँग देखिँदैन । यतिबेला यही पार्टीका युवा पुस्ताले अहिलेका नेतृत्व पुस्तालाई अभिभावकको भूमिकामा बसिदिन आग्रह गर्दै आइरहेका छन् तर उनीहरू त्यो मान्न तयार छैनन् चार पटकसम्म प्रधानमन्त्री भइसकेका देउवा अहिले पार्टी नेतृत्वमा पनि छन् अब उनले त्यो भन्दा माथि जाने आश राख्ने ठाउँ पनि छैन तै पनि उनी निष्क्रिय रहन चाहँदैनन् । उता सत्र पटकसम्म प्रधानमन्त्रीको उमेद्वारमा लड्दा पनि प्रधानमन्त्रीको पद आफ्नो हातमा पार्न नसकेका रामचन्द्र पौडेलाई अझै पनि पार्टी सभापति र प्रधानमन्त्री बन्ने ठाउँ पाउँछुकी भन्ने आस हुन सक्छ त्यसैले उनी पनि आजैदेखि सक्रिय राजनीति छोडेर बस्न चाहँदैनन् । युवा पुस्ताले नेतृत्व हस्तान्तरणको माग गरिहँदा फेरी पनि देउवा नै बलियो बनेको प्रमाण संसदीय दलको निर्वाचनले देखाइसकेको छ भने उनले आगामी महाअधिवेशनमा पनि आफू पार्टीको सभापतिमा लड्ने घोषणा गरिसकेका छन् । यसले गर्दा बाहिर बिरोधका आवाज सुने पनि भित्रभित्रै देउवाको पकड मजबुत नै छ भन्नेमा शंङ्का छैन । संसदीय दलको निर्वाचन परिणाम र देउवाले आफुलाई  आगामी अधिवेशनका लागि पनि उमेद्वार घोषणा गर्नुले कतै काँङ्ग्रेसी जनले पौडेललाई फेरी उचालेर थाङ्नामा सुताउने त होइनन् भन्ने शंका गर्ने ठाउँ पनि छ । पार्टीले तत्कालै विशेष महाधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्न चाह्यो भने र युवा पुस्ताले उमेद्वारी दियो भने एकपटक काँङ्ग्रेसको इडेस्कोपी भएको मानिनेछ तर रिपोर्ट सकारात्मक आउला जस्तो लाग्दैन । अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई अझैपनि सकारात्मक सोचले हेरेको पाइँदैन वा आफ्नो भन्दा फरक बिचार प्रस्तुत गर्नेलाई बिरोधीका रूपमा हेर्ने चलन अझै पनि कायमै छ । यदि विशेष महाधिवेशन, महाधिवेशन वा नयाँ नेतृत्व छान्ने जुनसुकै बिकल्प यो पार्टीले अगाडि सारे पनि तत्कालका लागि देउवा भन्दा बाहिर नेतृत्व आउने सम्भावना कम देखिन्छ । बरु विधान अनुसार नै आगामी दुईवर्ष पछि नियमित महाधिवेशनमा गयो भने वर्तमान पार्टी महामन्त्री शशांक कोइराले नेतृत्व लिन सक्ने साँघुरो बाटो देखिएको छ । त्यसैले गर्दा नेपाली काँङ्ग्रेसको यो विवादले उचित निकास पाउने ठाउँ थोरै पनि देखिँदैन । अहिलेसम्म पार्टीभित्रको विकसित अवस्थालाई हेर्दा यो पार्टी भित्रको विवादले तत्कालै मिलनबिन्दु पहिल्याउन सक्ने सम्भावना न्यून देखिन्छ । पार्टीभित्रका आवजलाई एक कानले सनेर अर्को कानले उडाइदिने देउवा प्रवृत्तिले गर्दा आगामी नियमित महाधिवेशसम्म नै अहिलेको विवादले निरन्तरता पाउने देखिन्छ । जति आरोप प्रत्यारोप गरे पनि तत्काललाई यो दलको मिलन बिन्दु भेटिन मुस्किल छ।

 

लेखक

सुजन देवकोटा

Related posts

Leave a Comment