गृहपृष्ठ छायामुनिको कानुन

छायामुनिको कानुन

देशमा उत्पन्न वर्तमान परिस्थिति हेर्दा हामी कुनै कानुनी राज्यमा छौँ जस्तो लाग्दैन । कानुनी राज्यमा भएको भए अपराधिले सँजाय पाउँथ्यो । पीडितले न्याय पाउँथ्यो । कानुन लाग्नु पर्नेलाई कानुन लाग्थ्यो र उन्मुक्ति पाउनुपर्नेलाई उन्मुक्ति दिइन्थ्यो तर यहाँ जे नहुनुपर्ने हो त्यही भइरहेको छ । यातायात ठप्पले यात्रु अलपत्र, स्वास्थ्य क्षेत्र ठप्पले बिरामी अलपत्र,डाक्टरहरुले लापरबाही गर्न नपाउने नियम बन्दा अस्पताल बन्द गरेर डाक्टर सडकमा उत्रने देश हो यो । ड्राइभरले लापरबाही गरी मान्छे मार्न नपाउने नियम लागू गर्न खोज्दा गाडी थन्क्याएर गाडी चालक सडकमा उत्रने देश हो यो, यस्तो त कानुनी राज हराएको देशमा मात्रै हुन पर्ने हो । हाम्रो देशमा कानुन त छ तर हामी कस्तो कानुनी राज्यमा छौँ भन्ने कुरा को अन्योल बढेको छ । बाहिरी रुपमा हेर्दा हामी सबैलाई लाग्छ यहाँ नियम कानुन राम्रो छ तर भित्री रूपमा त्यसको पाटो फरक छ । राज्यमा जस्तो कानुन बन्छ त्यो दुरुस्त व्यवहारमा लागु हुँदैन, हुन दिइँदैन । संविधान लेख्नेले नै संविधानको पालना गर्दैनन् भने अरूलाई भन्ने के हो र ? नेपालको नयाँ संविधानमा ९० प्रतिसत सभासदको सहमति रहेको भनिएको छ । ९० प्रतिसत सभासदको सहमति हुन भनेको ९० प्रतिसत जनताको पनि समर्थन हुनु हो भन्ने बुझिन्छ किनकी जनताद्वारा नै चुनिएर उनीहरू सभासद भएका थिए ।

नेपाली जनताले संविधान बनेपछिको नेपाल जस्तो होला भन्ने अपेक्षा गरेका थिए देश त्यो भन्दा उल्टो दिशामा गयो । संविधान नबनुन्जेल त आशा थियो भोलि केही होला भन्ने । जब संविधान बनेपछिको आशा गर्ने ठाउँ मानिसबाट मेटिदै गयो अनि मानिसलाई नयाँ संरचनाप्रति बितृष्णा बढ्दै गयो यत्रो युद्ध लडेर बनेको संरचनाबाट पनि नेपाली जनता सन्तुष्ट हुन नसकेपछि अब के फेरी पुरानै व्यवस्थामा फर्कने हो हामी ? यहाँ कागजी कानुन व्यवहारमा उत्रन सकेमा नागरिकका लागि धेरै नै उपलब्धि मुलक कुराहरू समेटिन सक्छन् तर “नेपालको कानुन बनाउनेले नै जानुन्” भनेजस्तो अवस्थामा छौँ यतिबेला हामी । जब कुनै कुराको आश गरेर बसिन्छ र त्यो आशा बिस्तारै निराशामा परिणत हुँदै जान्छ अनि फेरी त्यसैको आशा गर्नु बेकार हुन्छ । हाम्रो देशको सन्दर्भमा पनि अहिले त्यस्तै भएको छ । जनताले सोचेको जस्तो सफलता प्राप्त गर्न नसकेपछि यतिबेला सबैमा निराशा छाएको पक्कै हो । आफू गन्तव्यमा पुग्नको लागि हिँड्दै गएको बाटो बीचैमा तुहिएपछि बाटो घुमेर भएपनि मानिस आखिर त्यो ठाउँमा त पुग्नै पर्ने हुन्छ । यदि पुरानो बाटोबाट त्यो सम्भव भएन भने नयाँ बाटो निर्माण गर्नु पर्ने अवस्था पनि आउन सक्छ ।

नेपालमा लामो युद्ध पछि अहिलेको अवस्था सृजना भएको हामी सबैलाई अवगतकै कुरा हो तर त्यो युद्ध र यो अवस्था हेर्दा लाग्छ दशवर्षे युद्ध बेकार थियो । तत्कालीन युद्धरत पार्टीको एउटा हिस्सा पनि अहिले बाँकी रहेन त्यसको मूल नेतृत्व नै एमालेमा बिलय भएपछि यतिबेला युद्धरत पार्टी भनेर भन्ने जात नै रहेको छैन । संविधान बनेपछि देशको अवस्था झनै खलबलिएको छ । शान्ति सुरक्षा तरल अवस्थामा पुगेको छ । देश विकासको खाका कोरिएला भन्ने आशा मरेको छ । गाउँगाउँमा सिंहदरबार भन्ने नारा नारामै सीमित भएको छ । विभिन्न किसमका घटना सम्बन्धि विभिन्न किसिमका कानुन बनाइएको छ अतः त्यसले घटना झन् बढाइरहेको छ यसको कारण हो बिधि बिधान व्यवहारमा लागु नहुनु र आर्थिक चलखेलले अपराधका घटनालाई ढाछोप पार्नु । राजनीतिक पहुँचका आधारमा दिइने उन्मुक्ति पनि आपराधिक घटनालाई प्रश्रय दिने अर्को प्रमुख कारण हो ।

कतिपय निती नियम सरकारले बिना तयारी व्यवहारमा लागू गराउन खोज्दा पनि समस्या देखिएको छ । त्यसका केही उदारहणहरू पनि छन् । काठमाडौँलाई प्लाष्टिक झोलामुक्त बनाउने तत्कालीन सरकारको निर्णय निरन्तर व्यवहारबाट बाहिरियो । काठमाडौँलाई हर्नमुक्त बनाउने कुरा पनि पूर्णतः व्यवहारिक हुन सकेको छैन । शैक्षिक क्षेत्रका निती नियम पनि यस्तै बिबादित भएर विद्यार्थीको मनोभावना बिगारिरहेको छ । यी जनतालाई प्रत्यक्ष प्रभाव पार्ने कुराहरू भए । कतिपय नियमहरू राष्ट्रप्रमुख देखि उच्च ओहोदामा आसिनहरूका लागि पनि बनाइएका हुन्छन् र ती नियम पनि पालना भएको पाइँदैन । ठूला ठालुबाट नै ऐन नियमको पालना नभएपछि तल्लो तहमा त्यसलाई कार्यान्वयन गर्नै गाह्रो हुन जान्छ त्यसैले गर्दा माथिल्लो तहदेखि नै यसलाई कार्यान्वयनमा ल्याउन हाम्रो समाजमा निकै कठिन हुने गर्छ या भनौँ उनीहरूले कानुन नै पालना नगर्दा पनि उनीहरूका लागि छुट हुन जान्छ । यस हिसावले हेर्दा यहाँको चलन ठूलालाई चैन सानालाई ऐन भन्ने अवस्थासँग मेल खान जान्छ ।

यहाँ कानुनको पालना गराउन भन्दा पनि कानुन मिच्नेलाई अझै प्रोत्साहन गरिँदै आइएको छ । विकास निर्माणका लागि ठेक्कापट्टाको जिम्मा लिने धेरै कम्पनी यसका उदाहारण हुन् । जुन कप्पनीले तोकिएको समयमा काम सम्पन्न गरेको हुँदैन र त्यो कम्पनी धेरै विषयमा विवादमा तानिएको हुन्छ फेरी त्यसलाई नै बोलाइ बोलाइ कामको जिम्मा दिइन्छ यो पनि राजनीतिक प्रेरणाकै आधारमा भएको हुनुपर्छ । मेलम्ची खानेपनी, आयोजना, बुढीगण्डकी जलासय, काठमाडौँ तराई फास्ट ट्रयाक जस्ता ठूला आयोजना देखि लिएर देशको राजधानी लगायत ग्रामीण क्षेत्रका सडक निर्माण यसभित्र पर्न जान्छन् यी कुनै पनि कार्य समयमा सफल भएका छैनन् पहिलोपटक तोकिएको समयमा काम सम्पन्न गरेको रेकर्ड त छैन नै पटकपटक समय थपिँदा पनि त्यो समयको महत्वलाई त्यस्ता ठेकेदार कम्पनीले बुझेको पाइएन यस्तो हुनुमा कानुनी प्रकृयाकै कमजोरी देखिन्छ । पुनर्निमाण प्राधिकरणको पनि अवस्था उस्तै हो दुई वर्ष अघि राष्ट्रपतिले उद्घाटन गरेको रानीपोखरी र प्रधानमन्त्रीले उद्घाटन गरेको धरहराको निर्माण कार्य सुरु नै भएको छैन भन्दा पनि हुने अवस्थामा छन् । राष्ट्रिय स्तरका काममा त यस्तो लापरबाही भएको हुन्छ भने गाउँ गाउँमा सर्वसाधारणको के होला अवस्था ? हामी सोझै अनुमान लगाउन सक्छौँ । यदि राज्यले संविधानलाई आत्मसाथ गरेर बनेका विभिन्न कानुन तथा विधि बिधान र निती नियमलाई व्यवहारमा उतार्ने हो भने देश विकासमा तीब्रता आउनुका साथै नेपाली जनमानसमा पनि सकारात्मक सन्देश पुग्ने कुरामा कसैका दुईमत नहोला ।

यतिबेला राज्यमा चलिरहेको बलात्कारका घटना दिनैपिच्छे बढ्नमा फितलो कानुन नै कारक बनेको छ । यहाँ एकाध बाहेकका सबै खाले कानुन बनेका छन् केवल समस्या कार्यान्वयनमा नै हो । ठूला र सम्पन्नशाली व्यक्तिले जे–जस्तो अपराध गरेपनि कानुनको घेराभित्र ल्याउन निकै धौधौ पर्छ । यदि उनीहरूलाई कानुनी दायराभित्र ल्याइहाल्यो भने पनि आवश्यक कानुनी प्रकृया बिना नै उन्मुक्ति दिइन्छ । पछिल्लो पटकको निर्मला प्रकरणमा पनि भएको यस्तै हो यो घटनामा संलग्न अपराधि पत्ता लगाउन यति परिश्रमको खाँचो थिएन र छैन यहाँ पनि ठूलै खानदानी घरको हात रहेको हुनपर्छ जसले गर्दा यो घटना अन्तर्राष्ट्रिय बन्न पुगेको छ । पछिल्लो अवस्थामा झन् दुःखी गरिब जनता पीडित भएमा उनीहरूले न्याय पाउने आशा मरिसकेको छ । यतिबेला आम जनतामा यस्तो अवस्थामा पर्न पुगेका छन् कि देश संक्रमण कालमा हुँदा भन्दा अहिलेको अवस्था जटिल बनेको छ । संक्रमणकालीन अवस्थामा त भोलि संक्रमण टरेपछि केही होला भन्ने झिनो आश हुन्थ्यो अब त्यो अवस्था सकिएको अवस्थामा हामी पुगिसकेका छौँ । यो अवस्थामा परिवर्तन ल्याउन पुनः अर्को युद्धको रचना गर्नुृपर्ने हुन्छ । एउटा कोठामा पसेको बिरालोलाई सबै झ्याल ढोका थुनेर ऊ माथि जाइलाग्दा उसले के गर्छ मानिसको घाँटीमा समातेर मानिसलाई नै मारिदिन्छ । अहिले हाम्रो देशको अवस्था करिब करिब त्यस्तै भएको छ । जनतालाई चारैतिरबाट अत्याइएको छ । अब यो अवस्था धेरै समयसम्म रह्यो भने हामी नेपाली पनि कोठामा थुनिएको बिरालो जसरी नै जाइलाग्नु पर्ने दिन आउन सक्छ । यसतर्फ राज्यको ध्यान जाओस् ।

प्रकाशित समय २०७५ पुस ४ गते बुधवार ०६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु