गृहपृष्ठ गणतन्त्रमा राजतन्त्रात्मक शासन व्यवस्था

गणतन्त्रमा राजतन्त्रात्मक शासन व्यवस्था

नेपालमा अहिले कस्तो शासन व्यवस्था छ भन्दा लोकतान्त्रिक शासन व्यवस्था छ भन्नु पर्छ र अहिले नेपालमा राजा नभएर राष्ट्रपति छन् । राणा र पञ्चायत शासनको जरैदेखि अन्त्य भए पनि शाही शासनले टाउको उठाउने ठाउँ अझै बाँकी छ । यदि जनताले अहिलेकै जस्तो शास्ती भोग्दै जाने दिनको अन्त्य भएन भने अहिलेका धेरै राजारुपीहरूलाई पाल्नु भन्दा एउटै राजालाई पाल्नु ठीक भन्ने अवस्थामा नेपाली जनता एकदिन पक्कै पुग्न बाध्य हुनेछन् । सक्रिय राजाको शासन भन्दा निष्क्रिय राष्ट्रपतिको शासनमा जनता बढी आहत हुन थालेपछि पुरानै प्रणालीमा फर्कनु कुनै ठूलो कुरा होइन । राजाले कब्जा गरेको शासन फिर्ता गराउने नेपाली जनता हुन्, राणा, पञ्चायत र शाही शासन फाल्ने पनि नेपाली जनता नै हुन् आवश्यकताको महशुस गरे फेरी राजा ल्याउन सक्ने हैसियत यिनै नेपाली जनतामा छ । नेपालमा पछिल्लो संविधान नबन्दासम्म (करिब १० वर्ष) को अवस्थालाई संक्रमणकालीन अवस्था भनियो संक्रमणकाल नै  भएता पनि त्यो अवस्थामा अहिले भन्दा जनता स्वतन्त्र थिए । बोल्ने, लेख्ने कुरामा छुट थियो । जनताले आफ्नो हक अधिकार संविधानमा उल्लेख गर्नका लागि बिभिन्न खालका दवावमूकल कार्यक्रमको आयोजना गर्थे र त्यसमा स्वस्फूर्त सहभागी हुन सक्थे । संविधान बनेपछि पनि यो भन्दा अगाडी तीनवटा सरकारले राज्य सञ्चालन सञ्चालन गरिसकेका छन् । त्यसबेलासम्म नागरिकमा धेरै थोरै कतै न कतै लोकतन्त्रकै अनुभूति भएको थियो ।

देश संघीयतामा प्रवेश गरेपछि ओली नेतृतको सरकारले झन्डै दुई तिहाइको मत आफ्नो पक्षमा उता¥यो त्यसपछि सुरु भयो गणतन्त्रमा नयाँ राजतन्त्रात्मक शासन । लोकतन्त्रको परिभाषा के हो ? कुनै पनि विषयको परिभाषालाई ठाउँ विशेष र व्यक्ति विशेषले प्रभाव पार्दैन तर नेपालमा सरकार फेरिएपच्छिे लोकतन्त्रको परिभाषा पनि फेरिएको आभाष हुन्छ । लोकतन्त्रमा जनताले आफ्ना हक अधिकारको लागि स्वस्फूर्त रूपमा हात फिँजाउन पाउनुपर्ने हो । लेख्ने र बोल्ने स्वतन्त्रता संविधानले दिलाएको जनतामा निहीत अधिकार हो । ओली सरकारले बिस्तारै बिस्तारै यी सबै कुरामा अङ्कुश लगाउँदै आएको छ । अब कुनै पनि बिश्लेषक वा लेखकले मिडियामा बोल्दा होस् वा पत्रिकामा लेख्दा किन नहोस् नयाँ राजावतार ओलीसँग परामर्श गर्नुपर्छ भन्ने किसिमको अभिव्यक्ति उनले दिएका छन् । देशको सर्बोच्च र सम्मानित पदमा बसेको व्यक्तिले बुद्धिजीवीहरूलाई थला पार्ने गरी जवाफ दिन सक्छु भन्नु कत्तिको सुहाउने कुरा हो ? निन्द्रा नपरेको बेला आफैँले आफैँलाई सम्झँदा पनि थाहा हुन्छ । यसो भन्नुको तात्पर्य सबैले मैले गरेको काममा समर्थन जनाउनु पर्छ, मैले बोलेको कुरामा हो मा हो मिलाउनु पर्छ भन्ने होइन र ? यसलाई राणा शासनको पुनरावृत्ती हो भन्दा फरक नपर्ला ।  हिँजो जनतासँगै सडकमा हिँड्ने व्यक्ति आज सर्वोच्च पदमा पुगेका हुन् । उच्च पदमा पुग्दैमा जनतासँग साक्षात्कार गर्नै नहुने, जनतासँग हात मिलाउनै नहुने, जनताको पहुँच टाढै रहनुपर्ने भन्ने मान्यता राख्नु गलत हो । भारतका प्रधानमन्त्री नेपालमा आउँदा सडकमा जनतासँग हात मिलाउँदै हिँड्न हुँदा हाम्रा राष्ट्रपति, प्रधानमन्त्री चाहिँ सडकमा गुड्दा जनताले देख्छन् कि भनेर लुक्न पर्ने के कारण छ ? उनीहरूलाई आज त्यो ठाउँमा पु¥याउने तिनै जनता होइनन् र ? सडकमा जनताको सबैभन्दा पहिलो अधिकार हुन्छ । भीभीआईपीले जनतालाई सताएर आफूलाई महान् ठान्नु गतल हो । जसले जनतालाई बढी सताउँछ ऊ जनताको नजरमा कहिल्यै राम्रो हुन सक्दैन । पदमा पुग्दैमा आफूलाई ठूलो र सर्वेसर्वा ठान्नु हुँदैन ।

नेपालको इतिहासमा अहिलेसम्म हेर्दा जब कुनै व्यक्ति उच्च पदमा पुग्छ अनि जनता सबैभन्दा बढी उही व्यक्तिबाट प्रताडित हुन्छन् । जुनकुरा अहिले पनि लागू भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो विदेश भ्रमण (पोल्याण्ड) बाट फर्कने क्रममा सडक मात्रै अबरुद्ध पारिएन आकाश पनि लामै समय जाममा पारियो । अझै दुःखको कुरा हवाइ सेवा जाममा मात्रै परेन केही उडान नै स्थगीत गर्नुपर्ने अवस्थाको सृजना गरियो । हिँजो सडकमै पैदल हिँडेर आज त्यहाँ पुगेकी एकजना महिला हुन् भण्डारी आखिर आज उनका लागि किन त्यत्रो सुरक्षा ? यति धेरै सुरक्षा चाहिने व्यक्तिले त कहीँ न कहीँ केही अपराध गरेर उसलाई अरु कसैबाट ज्यानको खतरा भएको महसुस हुन पर्छ । जसले कुनै गल्ती नै गर्दैन कुनै अपराध नै गर्दैन उसलाई किन र केका लागि सुरक्षा ? एउटा राष्ट्रको प्रमुख भइसकेपछि रुरक्षा त चाहिन्छ नै त्यसलाई अन्यथा लिनु हुँदैन तर अहिले हाम्रो देशमा राष्ट्रपतिको सुरक्षा र सवारीमा जुन किसिमको बन्दोबस्त मिलाइएको छ त्यो आवश्यकता भन्दा बढी छ । राष्ट्रपतिको सुरक्षा व्यवस्था सरकारले गर्ने हो तर पनि राष्ट्रपति जनताको मनमा बस्न चाहने हो भने उनले जनतालाई दुःख नदिने किसिमको व्यवस्था गरियोस् भन्न सक्छिन् । जो कोही होस् अधिकार प्राप्त गरेर राज्यको सर्वोच्च पदमा पुगे पनि जनतासँगै हिँडेमा, जनतासँगै सहकार्य गरेमा उनीहरू नै जनताको लोकप्रिय बन्न सक्छन् र आगामी दिनमा उनीहरू र जनता बीचको सम्बन्ध पनि सुमधुर बन्न हयोग पुग्छ । नेपालमा त त्यस्तो देख्नै पाइदैन । त्यति मात्रै होइन यहाँ त राष्ट्रपतिको हातबाट टिका थाप्दा पनि घुँडा टेक्नुपर्ने अवस्थाको सृजना गरिन्छ । राष्ट्रपनि कुनै ब्रमाह्ण्डबाट झरेकी व्यक्ती होइनन् आम नेपाली जस्तै एउटी आमा हुन्, एउटी महिला हुन् नेपालीकी छोरी हुन् राष्ट्रपतिका हातबाट टिका बक्सिँदा होस् या उनको सवारीले होस् नेपाली जनतामा पुग्न गएको कष्ट एउटा नेपालीले अर्को नेपालीलाई दिएको यातना हो । 

प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वर्तमान सरकारको निर्माणसँगै जनताले पहिलेको तुलनामा धेरै दुःख पाउन थालेका छन् । पहिले राजाको सवारीलाई सवारी भनिन्थ्यो । राजा घरी घरी दरबारबाट बाहिर निस्कँदैनथे । जनतालाई सवारीले अहिलेको जस्तो धेरै पीडा दिँदैनथ्यो । अहिले एउटा मन्त्रीको सवारीमा पनि जनताले घण्टौँ सडकमा लामबद्ध भएर दुःख भोग्न बाध्य भएका छन् । अनि भन्न बाध्य छौँ हामी गणतन्त्रका भाग्यमानी नेपाली जनता हौँ । जनताको रगत र पसिनामा पौडि खेल्दै अहिले भीभीआईपीको पगरी गुथेकाहरूले जनतालाई बिर्सेका छन् । आफूहरूलाई अहिलेको ठाउँमा पु¥याउनको लागि हिँजो कसको कति सहयोग थियो भन्ने कुरा यतिबेला उनीहरूको मन मस्तिष्कबाट डिलिट भइसकेको छ । बिगतमा घर परिवार, अध्ययन, अध्यापन केही नभनी आन्दोलनमा होमिएकाहरूको जिन्दगी बर्बाद भएको छ । जसलाई हिँजो उनीहरू आफू मरेर पनि बचाए आज तिनै व्यक्तिहरू भीभीआईपी बनेर अगाडि पछाडि लावालस्कर सहित कालो सिसाभित्र सवारी हुन्छन् । शासन फेरिए पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन आएकै छैन । बरु ओलीका पछिल्ला गतिबिधिले ज्ञानेन्द्रले गरेको शासनको झल्को दिलाइरहेको छ । उनी प्रधानमन्त्री भएपछि धेरै मन्त्रालयको अधिकार खोसिएको छ । जनताको जीवनस्तरमा उल्लेख्य सुधार नआइन्जेलसम देशमा परिवर्तन भएको आभास नै हुन सक्दैन । अहिले पनि जनजीवन एक दशक अगाडिको तुलनामा उल्लेख्य परिवर्तन भएको पाइएको छैन । यस्तै अवस्थामा सरकारले केही दिन अगाडि मात्रै नयाँ युगको सुरुवात भनेर हर्षोल्लास मनाएको छ । यो एक दसकमा सरकारले केके परिवर्तन भएको देखेर युग नै परिवर्तन भएको उद्घोष गरेको हो जनता अलमलमै छन् । मुख्यतः जनताको आवत जावतलाई दैनिक प्रभावित पार्ने कुरा भनेको भीभीआईपीको सवारी हो पछिल्लो समय राष्ट्रपतिदेखि लिएर मन्त्रीसम्मको सवारीले जनता दिक्क भएका छन् । यस्तो व्यवस्थाले वर्षौँदेखि आजित भएका जनता झन् बढी आजित हुन थालेका छन् । नाम परिवर्तन भएको हो शासक परिवर्तन भएका हुन् तर पीडा झन् बढ्दो छ । तै पनि युग फेरिएको भनेर जनतालाई झुक्याइएको छ । देशको सुरक्षा अवस्थामा प्रमुख हिस्सा राख्ने प्रहरीको प्रशिक्षण केन्द्रलाई प्रभावित पारेर सेरेमोनियल राष्ट्रपतिका लागि निवास बिस्तार गर्नु, भूमिका नै नभएको उपराष्ट्रपतिलाई आवश्यकता भन्दा बढी बिलासी आवासमा स्थानान्तरण गरिनु । कोठै नपाउने सांसदका लागि आवस बनाउने भनिएको ठाउँमा आवस भइरहेका मन्त्रीका लागि अझै सुविधासम्पन्न आवास गृहको निर्माण गर्ने निर्णय गर्नु यो जनताको हितमा नभएर सरकारको आफ्नै दुनो सोझ्याउने रणनीति हो । यस्तै निर्णयहरूले गर्दा लाग्छ अहिले हामी गणतन्त्रमा शाही शासन भोगीरहेका छौँ । 


प्रकाशित समय २०७५ पुस ४ गते बुधवार १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु